आफ्नै पतनको उत्सवमा………



कुमारी लामा
काठमाण्डौ


चिल्ला गाडी, हात हातमै फोन, गर्मी हुँदा पङ्खा, जाडो हुँदा हिटर, लुगा धुन मेशिन, कोठा सफा गर्ने पनि मेशिन आदि आदि अहिलेको विकसित आधुनिक विश्वको पहिचान हो । धन्य विज्ञान ! धन्य आधुनिक समय र यसका उन्नति । तर के मानिस सुखी छन् यी सम्पूर्ण सुख सुविधाका साथमा सँकै छ ! किन कि विश्व प्रसिद्ध आधुनिक कवि टि. यस. इलियटले दिनानुदिन झ्याङ्गिदै गइरहेको आधुनिकतारुपी विशाल बृक्षले मानव जगतलाई शितल छाहारी भन्दा पनि मुटु चिस्याउने सेप दिइरहेको छ भन्ने निष्कर्ष निकालेका थिए । अहिले भन्दा लगभग नब्बे वर्ष अघिनै उनले लेखेका कालजयी काब्य The Waste Land मा संसार आधुनिकता र उन्नति प्रगति तर्फ लम्कदै गर्दा देखि नै मानिसहरु क्रमिकरुपमा यान्त्रिक हुँदै गई मानव सभ्यताकै पतनको बाटोमा लम्किरहेको खुलासा गरेका थिए । कवि इलियट आधुनिक विश्वले दिएको सुविधा सम्पन्न जीवनदेखि खुसी भन्दा पनि यस युगले हरेको मानवीय संवेदना, दिएको यान्त्रिक जीवन अनि मानिसहरु भित्रको निश्छल भावनाको मृत्यु ले नै बढी दुखेका थिए । कवि इलियटलाई मात्र हैन बरु हामी सबै अति बौद्धिक देखि अति निम्न स्तरका व्यक्तिलाई पनि यो आजको आँखा तिर्मिर पार्ने आधुनिक विश्वले क्षणिक सुखानुभूति भन्दा बढी दुखानुभुति नै गराएको छ । हामी साक्षी हौँ आजको आधुनिक सभ्य संसारको असली रुपको । प्रत्येक बिहानीसँगै आधुनिक विश्व हामी समक्ष आफ्ना अजङ्गका मुख उघार्दै मानव जगतलाई निल्दै छ कहिले नाजी Concentration Camp  भित्र ग्याँस च्याम्बरहरुमा चिच्याइरहेका आइमाइ र केटा-केटीहरुको आवाजकोरुपमा भने कहिले भियतनामका विभिन्न ठाँउहरुमा बम खसालिँदा नाङ्गै दौडिरहेका मानिसहरुको भयग्रस्त अनुहार र नाङ्गो शरीरकोरुपमा । त्यत्ति मात्र हैन अमेरिकाको जुम्ल्याहा भवन भत्किदै गर्दा आफ्नो मृत्यु निह्याल्दै गरेका हजारौं मानिसहरुको क्रन्दनकोरुपमा होस् या अरबको तातो बालुवामा घाँटी सेरिइदै गरेको वा कन्चटमा गोली ठोकिदै गरेको निरीह नेपालीकोरुपमा होस् आधुनिक संसारले हामी समक्ष क्रमिकरुपमा ताण्डव देखाइरहेकै छ ।

विश्व प्रसिद्ध कवि सिल्भिया प्लाथले Lady Lazarus  शिर्षक रहेको कवितामा 'मर्नु पनि एउटा कला हो ।' भनेकी छिन् तर अहिलेका आधुनिक संसारमा 'मार्नु पनि एउटा कला हो ।'  भन्ने नारालाई आत्मसात गरी नयाँ नयाँ तरिका र प्रयोग अवलम्बन गरी मानिस मार्ने होडबाजीमा लागेको महसुस हुन्छ । अहिलेको निसास्सिदो र भयग्रस्त विश्वलाई निह्याल्दा लाग्छ हामी साँच्चैनै श्राप पाएकी इभका सन्तती रहेछौँ । सायद उनले त्यो बर्जित फल खाने धृष्टता नगरेकी भए हामी आजको यस्तो डरलाग्दो चारैतिरबाट मृत्युले आफ्ना हातहरु लम्काइरहेको अनि पाइलैपिच्छेको शन्त्रासपूर्ण संसार पाँउने थिएनौँ होला । अनौठो लाग्छ जति जति विश्व आधुनिकता विकास र उन्नतिको चुली चुम्दै गइरहेको छ त्यत्ति त्यत्ति नै मानव समुदाय आफ्नो वास्तविक गुण आफ्नो अस्तित्व र पहिचानबाट कोषौँ टाढा छोडिदै गइरहेका छन् । भौतिक सुविधाको बढोत्तरीसँगै मानिसहरुको प्राकृतिक निन्द्रा र चैन हराउँदै गएको छ । उनीहरु विस्तारै विस्तारै यान्त्रिक हुँदै जाँदै छन् । हाड र मासुको शरीर सिङ्गो उभिएको छ तर उनीहरु भित्रको मन खोक्रिँदै छ । उनीहरुको स्वाभाविक हाँसो र आँशु कतै छुटेको छ । सायद आरामदायी जेट यात्रामा जेटकै पङ्खाहरुतिर अड्किएर घोप्टेभिरतिर दुर्घटनामा परी देह त्याग गरिसकेको छ । त्यसैले त बलजफती ल्याउन खोज्दा पनि ती मनभित्रबाट उर्लिने हर्षका वर्षाहरु उनीहरुका ओठसम्म आइ पुग्नै सक्दैनन् । उनीहरु बाध्य छन् कृत्रिम हाँसोले आफ्ना गालाका छाला दुखिन्जे हाँसे जस्तो गर्न ।

यो सभ्य भनाउँदा देखावटी आधुनिक जीवनबाट वाक्क भई धेरै कोमल र निश्छल हृदय भएकाहरु मानिसको वास्तविक हाँसो र चोखो मुटु खोज्न धेरै गाउँ-घर पाखा-पखेरा र प्रकृतिको काखमा पुगिसकेका छन् । उनीहरुले त्यो हाँसोको खोजी गरेका छन् जुन स्वत:स्फूर्त मनबाट निस्किई हाम्रा आँखाहरुबाट छछल्किन्छन् । तर अफसोच त्यो वास्तविक हाँसो यो अमिलो सहरी जीवनमा पाउन ज्यादै मुस्किल छ । त्यसैले त हाम्रो मन अमिलिएको छ, थाकेको छ अनि हतास भएको छ यो आधुनिक र सभ्य समाजमा । एकातिर मानवअधिकारका बुँदाहरुमा हस्ताक्षर हुँदै गर्दा अर्कातिर पत्रकारहरुको हत्या हुँदै गर्छ अनि कुनै निर्जन स्थानतिर गाडिदै गरेको हुन्छ आजको सभ्य समाजमा । एकातिर नारी स्वतन्त्रता र अधिकारका चर्का नारा लाग्दै गर्छ भने अर्कातिर मैना सुनारहरु बलात्कृत हुँदै मारिदै गर्छन् हाम्रै सभ्य समाजमा । एकातिर छोरीलाई  'अंश हैन शिक्षा' को नारा चर्किदै गर्छ भने अर्कातिर दाइजो नल्याएको निहुँमा जल्दै मर्दै गर्छन् हाम्रा चेलीहरु हाम्रै आँखा वरिपरि ।

अब कति बखान गर्नु यो सभ्य समाजको । जीवन झन झन कष्टकर र उराठलाग्दो हुँदै गइरहेको छ । विश्वमा अझ धेरै होडबाजी हुँदै छ आणविक परिक्षणको अनि अझ धेरै धेरै लादेनहरु जन्मदै छन् आफ्ना दृढ संकल्प सहित । मानिसहरुभित्रका पाशविक चरित्र अझ बढी हाबी हुँदै गइरहेका छन् उनीहरुका व्यवहारमा । अब त मानिस भन्दा भयङ्कर अरु कुनै प्राणी नै छैन संसारमा सायद । हामी मानिसहरुलाई अब कुनै हिंस्रक जनावरको भय हैन बरु हामी जस्तै मानिसबाट नै अशुरक्षा र भय बढेको छ । एउटा सिर्जनशील मस्तिष्क सिर्फ यान्त्रिक रोवर्टमा परिणत हुँदै छ । यी अशान्तिरुपी यी रक्तपातरुपी अनि यी विभिन्न संघर्षरुपी असंख्य सुनामीका छालहरु हामीतिरै लम्कदै छन् सम्पूर्ण मानव जगतलाई ध्वस्त पार्ने संकल्प सहित ।

हामी मानिसहरु आफैले खनेको खाडलमा पर्दै पुरिँदै निसास्सिदै मरिनै रहेका छौँ र मरिनै रहनेछौँ । यो निरस समय हामी आफैले निम्त्याएका हौँ । हामी हाम्रै महत्वाकांक्षाले एकदिन खरानी हुनेछौँ । प्रसिद्ध अमेरिकी लेखक एफ. स्कट फिट्जराल्डका विश्वमा तहल्का मचाउन सफल उपन्यास The Great Gatsby  का प्रमुख पात्र ग्याट्सबी जस्तै हामी पनि आफ्नै अतृप्त आकांक्षाहरुले मारिने छौँ एउटा अर्थहीन मृत्यु । हामी यो भौतिक सुख सुविधालाई भोग गर्ने होडमा धेरै पर पुगिसकेका छौँ । हाम्रा आँखाहरु देखावटी झिलिमिली र क्षणिक आनन्दका लागि मात्र अभ्यस्त भइसकेका छन् । हामी सम्पूर्ण आधुनिक संसारकावासी प्लेटोले वर्णन गरेका अन्धकार गुफाका वासी हौँ । हामीलाई केवल भ्रममा बाँच्ने बानी परिसकेको छ । हामीमा सत्यतातर्फ लम्किने साहस पटक्कै छैन । ती गुफावासीलाई बाहिरी संसार अथवा ज्ञानको मार्गमा डो-याउन खोज्दा सूयैका किरणले उनीहरुको आँखा तिर्मि-याइ दिएपछि फेरि अन्धकार गुफाकै शरणम पुगे जस्तै हामी पनि आफूभित्रको ज्योतिलाई बेवास्ता गरी बाहिरी बिजुली बत्तीको क्षणिक उज्यालोमा रमाएका छौँ । हामीहरुमा आफूभित्रको भगवानलाई महसुस गर्ने चेतना छैन तर धर्मको नाममा मन्दिर मन्दिर डुली निरीह प्राणीहरुको बली चढाउन व्यग्र हुन्छौँ । हामी हाम्रा पाइलाहरु प्रकृतिको काखको न्यानो माया र शितल छाहारीमा भन्दा आणविक हतियारको परिक्षण केन्द्रहरुतिर लम्काउँदै छौँ । प्राकृतिक नियमको विरोधमा हामी एकदमै धेरै अगाडि बढिसकेका छौँ । यो मूर्खताले अवश्य पनि हामीलाई हाम्रै पतनको बाटोमा डो-याइरहेको छ ।



८ असोज २०६५