गीत

आधुनिक मानव

ज्ञानेन्द्र गदाल
अरोरा, कोलोराडो ।


जति सक्तो लिने मात्रै दिने कुनै नामै छैन
आफ्नो भुडी भरे पुग्यो अरुलाई ठामै छैन ।

समाजसेवा राष्ट्रसेवा अरु धेरै धेरै सेवा
मुकुटधारि छट्टुहरु यिनकै ज्यादा हुल छ
पाखण्डीको जालमा परि पछि पछि लाग्ने
सिधा सादा कोही भए तिनको पनि भुल छ ।

भेटेजति लिएका छन् सकेजति पिएका छन्
भ्रमको खेती रोपी रोपी आफुमात्रै जिएका छन्

आपुनो स्वार्थ पुरा गर्न मरिमेटी लागेकाछन्
जति खाए पिएपनि चुपनलाग्ने भोकाहरु
उठेकाछन् जुटेका छन् खोजिखोजि लुटेका छन्
पराइको रगत चुस्ने आततायी जुकाहरु ।

आजभोलि मानवतामा लाग्छ खिया परेजस्तो
टहटह जून छेक्न वादल अघि सरेजस्तो ।