आदर्श नायक


सङ्गीत आयाम
चितवन, भरतपुर
sangeetaayam@ntc.net.np


ऊ गाउँको एउटा आदर्श नायक थियो । उसका कुराहरुलाई गाउँलेले अकाट्य तर्कको रुपमा प्रस्तुत गर्दथे र उसँग नजिक हुने सौभाग्य प्राप्त गर्न कतिपय मानिसहरुको ठूलो आकाङ्क्षा रहन्थ्यो । उसको व्यवहार र क्रियाकलापलाई नक्कल गर्ने प्रवृत्ति एकदमै बढेर गएको थियो । ऊ अत्यधिक लोकपिय हुनाको साथै एउटा नेतामा हुनुपर्ने वर्तमान समय सुहाउँदो गुणहरु पनि प्रशस्त मात्रामा फेला पार्न सकिन्थ्यो । यी सब कारणहरुले गर्दा नै ऊ एउटा आदर्श नायक भएको थियो र यसमा ऊ गौरवान्वित थियो पनि ।

एकदिन एकाबिहानै ऊ गाउँको चोकमा आयो । अनायासै भएको उसको प्रवेशले त्यहाँ उपस्थित मान्छेहरुमाझ चलिरहेको प्रसङ्गको अन्त्य मात्र भएन बरु उसलाई देख्नासाथ उसको चर्चाले आफ्नै प्रकारको ठाउँ बनाइसकेको थियो । यो कुनै अस्वाभाविक कुरा थिएन त्यो त गाउँको प्रकृतिसँग पूर्णरुपमा मेल खान्थ्यो । हातहरु सहज रुपमा उठे नमस्कारका निम्ति उसले अभिवादनस्वरुप हार्दिक रुपमा उत्तर दियो । त्यस चोकमा उपस्थित मान्छेहरुको समूहभित्रबाट एउटा प्रष्ट स्वरले वातावरणलाई केही खुकुलो पार्यो ।

ए तपाई ! हामीलाई खबर गर्नुभएको भए हुन्थ्यो नि ! हामी आइहाल्दथ्यौं किन कष्ट गर्नुभएको ? उसले देख्यो आफ्नो त्यस भक्तको मुखमा सलबलाएको मुस्कानको रेखाले मानौं निकास पाएको थियो । केही समयको मौनतापछि उसले चारैतिर आफ्ना आँखाहरुलाई नचाउँदै डुलायो र हठात् ऊ आफ्नो मूल कुरातिर प्रविष्ट भयो । "मैले विवाह गर्ने निश्चय गरें ।"

कुनै शान्त तलाउमा ढुँगा खस्दा तरङ्ग उठेझैं गाउँको त्यो व्यस्त चोकमा पनि हलचल शुरु भयो । सब आश्चर्यचकित थिए । कोही पनि यो कुरालाई पत्याउन तयार नै थिएनन् । यस्तो महसुस भयो कि मानौं उसको विवाह गर्ने कुरा बिजुलीको कुनै शक्तिशाली झट्का भन्दा ठूलो हो । उसले फेरि त्यही कुरा दोहोर्यायो ।
"मैले विवाह गर्ने निश्चय गरें ।"

आँखा ठूल्ठूला भएको एउटा कालो वर्णको मान्छे अघि सरेर मानौं उसको कुरा काट्दै थियो । "तपाई त विवाह कहिल्यै पनि नगर्ने भनेर बस्नुभएको थियो । त्यस्तो के कुराले यहाँलाई विवाह गर्न प्रेरित गर्यो समाजप्रतिको समर्पणमा त्यस्तो केही विशेष व्यवधान पो आइलाग्यो कि ?"
उसले आफ्नो पहिलाको कुरालाई काट्दै बौद्धिक मन्तव्य दिने अभिलाषासहित दार्शनिक हुन चाह्यो ।
"मेरो विवाह नगर्ने निर्णय समाज सापेक्ष थिएन । विवाह गरेर झन् समाजप्रति बढी समर्पित हुन सकिन्छ मलाई यस्तो लाग्छ । समयको मागअनुसार विवाह गर्नु झन् ठूलो प्रगतिशील हुनु हो ।" यो अकाट्य तर्कजस्तै थिायो । कसैले पनि उसको कुरालाई काट्ने हिम्मत गर्न सकेनन् बरु सहमतिका साथमा केही टाढाबाट आएको धमिलो स्वरले भने आफ्नो मुख खोल्दै थियो ।

"विवाह गर्नु उहाँको अधिकार हो तर विवाह उहाँको पृथक व्यक्तित्व र समाजलाई प्रभावित पारेको अलग अस्तित्व अनुरुप कै हुनपर्दछ ।"

ऊ पढेलेखेको थियो । राजनीतिमा उसको राम्रो रुचि थियो तर एकदमै सक्रिय भएर ऊ कहिल्यै पनि हिंडेन । कला साहित्यप्रतिको उसको लगावको कारणले नै समाजमा उसलाई चर्चाको शिखरमा पुर्याएको थियो । विशेष गरेर कला साहित्यमार्फत नै ऊ बौद्धिक व्यक्तिमा रातारात रुपान्तररित भएको थियो । उसले बेलाबेलामा गर्ने संवाद र परिचर्चाको कारणले परिणामतः उभित्र घमण्डको मात्राले पटक पटक छलाङ मार्ने पनि गर्दथ्यो । उसले सार्वजनिक रुपमै भनेको थियो कि नोकरी नगरेका र नोकरी नपाएकाहरुलाई उसले खासै मान्छेको श्रेणीमा राख्न रुचाउँदैन । एउटा कुरामा भने एकदमै अचम्म लाग्छ कि उसँग त्यस्तो विशिष्ट प्रकारको व्यक्तित्व पनि थिएन न समाजमा उसको कुनै त्यस्तो ठूलो योगदान नै थियो र पनि समाज उबाट अत्यन्तै प्रभावित थियो । समाजले उसलाई आदर्श नायकभन्दा तल हेर्न नै जान्दैनथ्यो ।

उसलाई पहिला पहिला पनि बारम्बार केटी दिन नआएका होइनन् तर उसले कहिल्यै विवाह गर्न नै मानेन । विवाह गर्ने उमेर भने क्रमशः भाग्दै थियो । कुनै उद्देश्यका निम्ति भनेर उसले आफ्नो जीवनलाई आफ्नै प्रकारको यात्रामा ढाल्दै गयो । उसले घरी घरी चर्चित व्यक्तित्वहरुसँग आपुूलाइृ तुलना गर्दथ्यो र विवाह नगर्ने सङ्कल्पमा नै सँधैं मस्त रहन्थ्यो । कहिले लता मङ्गेशकर र वाजपेयीलाई अगाडि सारेर विवाह गरेर के हुन्छ भन्थ्यो भने कहिले पारिजात र भट्टराईको उदाहरण दिएर विवाह नगरेर पनि ठूलो मान्छे भइन्छ भन्थ्यो । परिवारका सदस्यहरुको सँधे एउटै चाहना हुन्थ्यो कि उसले विवाह गरोस् घर बसाओस् तर ऊ आफ्नो मर्जीको मालिक थियो । परिवारको कतै केही सीप नै नलागेर सम्पूर्ण कुरा उसमा नै छोड्न बाध्य भएका थिए ।

विवाहको कुरा परिवारका सदस्यले उसमा छोडे पनि अप्रत्यक्ष रुपबाट उनीहरु सक्रिय थिएनन् भन्न सक्ने आधार भने थिएन । उसलाई केही थाहा नै नदिइकन उनीहरु नातागोता इष्टमित्रकहाँ पुग्दथे र उसलाई मनाउन हरप्रकारका बिन्ती गर्दथे तर सब प्रयत्न निष्फल परिणतिको साथमा अघि बढ्दथ्यो कारण उसले इष्टमित्रहरुसँग यो कुरालाई लिएर कहिल्यै पनि भेट्न रुचाएन र आपुू एक्लै बस्ने मौसमको प्राप्तिमा नै उद्वेलित भैरह्यो ।

हुन त उसलाई विवाहको रमाइलोमा हराउन मन नलागेको भने होइन । विवाहको लगत्तै आउने सुहागरातको सम्झनाले मात्र पनि उसका कतिपय रातहरु बिनानिद्रा समाप्त भएर गएका थिए । उसलाई कुने पश्चाताप थिएन यी खेर गएका रातहरुदेखि । बरु कुनै मीठो स्पर्शले पायः मध्यरातमा स्पर्शित भैरहन्थ्यो । ऊ वैंशको नजािनंदो काउकुतीसँगै र देख्दैगरेका सपनाहरु बीच विवाहको रोमाँचक स्थितिभित्र पाउँथ्यो आफुलाई । तर सैद्धान्तिक आलोकमा आफुभित्र जमेर रहेको व्यक्तित्व मैनझैं पग्लदैं गएको देखेपछि विवाह नगर्ने विचारसँग नजिकको सम्बन्ध फेरि स्थापित भने गरिहाल्दथ्यो ।

एकदिन ऊ घरभन्दा धेरै पर पुग्यो । मनोरम वातावरणको साथमा मङ्सिरको महिना पाकिसकेका धानका बालाहरुझैं मस्त हुँदै झुलेको थियो । ढकमक्क पूलहरुको सुगन्धमा कुनै अज्ञात उज्यालोको आँगनमा प्रवेश गरेजस्तै ऊ आफु मदहोश भएर नाच्न थाल्यो । चिसो हावाको झोंकाले प्रकृतिका हातहरु निरन्तर हल्लाइरहेको थियो । यी सबै कारणहरु उसलाई नयाँ अनुभूतिभित्र आरोहण गर्न पर्याप्त नै थिए । सफा मौसम र शान्त परिवेशको उद्गम आनन्दमा जीवनमा पहिलोपल्ट उसले विवाह गर्ने कुरालाई गम्भीर रुपमा लियो । उसले तत्कालै सम्भुयो कुनै अज्ञात मायालु प्रेमिकाको न्यानो अँगालोलाई र तातो स्पर्शलाई । उसलाई कताकता लाज पनि लाग्न थाल्यो आपुूदेखि नै । सायद ऊ तन्द्रामा थियो उसले आपुूभित्र मुर्झाएको वैंशालु नायकलाई प्रयोगस्वरुप सक्रिय पार्नुपर्छ भन्ने ठान्यो र ऊ जीवनमा पहिलोपल्ट विवाह गर्ने निश्चयमा पुग्यो ।

"मैले विवाह गर्ने निश्चय गरें ।" घरको आँगनमा उसका पाइला पुग्दानपुग्दै निश्चयात्मक अभिव्यक्तिले घरभित्र आफ्नो प्रतिध्वनि छरिसकेको थियो । घरका पारिवारिक सदस्यहरुले एक अर्कालाई एक अर्काले हेर्ने प्रक्रियाको आरम्भ हुन थाल्यो । सबै आश्चर्यचकित थिए उसको विवाह गर्ने कुराले । विवाह गर्ने कुरालाई कसैले पनि पत्याइरहेका थिएनन् । यो कुरा कसरी सम्भव भयो सबैसँग प्रश्न मात्र थियो ।

वास्तवमा परिवारका सबै सदस्य रमाए खुशी भए । तुरुन्तै एउटा पारिवारिक भोजको आयोजना गरियो । उसको विवाहको र भोजको कुरा नातागोताभन्दा बाहिर भने जान पाएन । यस्तो किसिमको निर्णय घरका वरिष्ठ सदस्यहरुबाट भएको थियो । भोजकै क्रममा उसको अङ्कलले विवाहको प्रकृतिबारे चासो राखे जुन कुरा स्वभाविक नै थियो । "विवाह त हुने भयो तर कस्तो प्रकारले विवाह गर्न खोज्दछौ बाबु ?"

उसले आफुलाई एउटा बौद्धिक व्यक्तिको रुपमा प्रमाणित गर्न यो अवसरलाई गुमाउन चाहेन र अरुले पनि सुन्न सकून् भनेर ठूलो ठूलो स्वरमा बोल्न थाल्यो । वास्तवमा उसको योजनाअनुरुप नै अरु सदस्यहरु पनि उसको नजिकमा आए ।
"हेर्नुहोस् अङ्कल म त्यसबारेमा स्पष्ट नै छु । समाजमा मेरो इज्जत छ प्रतिष्ठा छ । मैले जुन अध्ययन र चिन्तनबाट आफ्नो पृथक बाटो निर्धारण गरेको छु त्यसबाट म विचलित हुने प्रश्नै आउँदैन ।"

"तर तिम्रो विवाह कस्तो प्रकृतिको हो ?" यो प्रश्न उसको भिनाजुको थियो ।
"
विवाह एकदमै सामान्य तरिकाले हुन्छ साधारण प्रकारको । म चाहन्छु यो विवाहले समाजलाई परिवर्तनको दिशातिर उन्मुख गराओस् । नयाँ सोच प्राप्त गरोस् समाजले यो विवाहको कारणबाट । दाइजो ल्याउने कामको म घोर विरोध गर्छु मेरो व्यक्तित्व र प्रतिष्ठाको विरुध्दमा छ यो कुरा ।" उसले एकै श्वासमा आफ्ना कुराहरु भन्यो । उसको उद्घोष सुनेर पारिवारिक सदस्यहरुमाझ उदासीको गाढा रङ्ग लत्पतियो । उनीहरुलाई थाहा नभएको भने होइन उसले भनेका कुराहरुमा अब कुनै परिवर्तन हुन सक्दैन तर पनि उसलाई प्रभावित पार्न सकिन्छ कि भनेर केही सदस्यहरुले कसरत गर्न भने छोडेनन् । ऊ झन् अघिभन्दा कठोर भयो उसले कुनै पनि छुट कसैलाई दिन चाहेन ।

उसलाई चारैतिरबाट विवाहका प्रस्तावहरु आए । तस्बिरहरुको लाम लाग्यो । तस्बिर हेर्ने क्रममा एउटी राम्री केटीमाथि ऊ निकै बेर घोरियो र त्यस केटीका बारेमा सम्पूर्ण कुराहरु जान्न चाह्यो । केटी पढेलेखेकी शिक्षित परिवारकी थिई । साधारण जीवनपद्धतिमा हुर्केबढेकी थिई कुनै त्यस्तो सम्पन्न घरानाकी भने थिइन । केटीका प्रमुख दुई गुणहरुबाट ऊ अत्यधिक प्रभावित भयो । केटी पढाइमा अत्यन्त तीव्र थिई भने प्रतिभामा पनि अविश्वसनीयरुपले विलक्षण । उसलाई यही केटी नै सार्है मनपर्यो । समाजमा रहेको आफ्नो चर्चाअनुरुप कै उसले केटी फेला पारेको थियो । कुरा अघि बढ्यो । केटीका परिवार आफुले खोजेभन्दा माथिको ज्वाई पाउँदा निकै हर्षित थिए पनि । एक त उनीहरुलाई केटाको उच्च खानदानले आकर्षित गरेको थियो भने अर्को समाजमा रहेको उसको आदर्श नायकको छविका कारण प्रभावित पनि थिए ।

उसलाई ठीक एक बजे केटी हेर्न जानु थियो । ऊ समयमै आफ्ना मान्छेहरुसँगै केटीको घरमा पुग्यो । केटा र केटीले एक अर्कोलाई हेरे भेटे र मनपराए । टिकोटालो भयो र विवाहको मिति तय गरियो । केटाले हठात् एउटा अस्वाभाविक र अनपेक्षित प्रश्न गर्यो केटीका परिवारसँग "यो विवाहमा तपाईहरुले कति खर्च गर्न सक्नुहुन्छ ?"

सब झसङ्ग भए यस्तो प्रश्न सुनेर । यो प्रश्न समाजमा रहेको केटोको छवि अनुसारको थिएन ।

"हेर्नुहोस् यो मेरो प्रतिष्ठाको प्रश्न हो । मेरोजस्तो नाम र पहिचान भएको व्यक्तिले सामान्य तरिकाले विवाह गर्न मिल्दैन । तपाईहरुलाई थाहा नै छ समाजमा मेरो कत्रो इज्जत छ ! चर्चाको शिखरमा रहेको व्यक्तित्वले सामान्य तरिकाले विवाह गर्दा समाजले भोलि के सोच्ला यो विवाह मेरो मात्र होइन समाजको पनि हो ।" उसको अनुहारमा रेखिएको सङ्कल्पले अनौठो आकार धारण गरेको थियो ।

घटना दुर्घटनामा परिणत भैसकेको थियो । पारिवारिक सदस्यहरु उसको कुराबाट एकदमै खुशी भए पनि यस्तो कुराको आशा भने कत्ति पनि गरेका थिएनन् । झन् केटाका साथीहरु त उदेखि आक्रोशित नै थिए यस्तो प्रकारको उसको व्यवहार देखेर । टिकोटालो भएर विवाह तय भैसकेको थियो अब फिर्ता गर्न सकिने ठाउँ नै थिएन ।

विवाह भव्य रुपमा सम्पन्न भयो । केटाले खोजे अनुसार नै विवाह शानदार थियो । उसले यो विवाहबाट मूल्यवान विदेशी सामानहरुका सम्पूर्ण सेटसहित भर्खरै बजारमा आएको आधुनिक मोटरसाइकल पनि प्राप्त गरेको थियो । यस विवाहको खर्च धान्न केटीका परिवारका तर्फबाट पुख्र्यौली सम्पत्तिको रुपमा रहेको सम्पूर्ण घर जग्गा समर्पित गरिएको थियो । केटीका परिवार अब सडकमा आएको थियो । उसको आदर्श नायकको छवि भने समाजमा यथावत नै थियो ।