टर्मिनल थ्री

सुन्दर जोशी, ल्फोरिडा

व्यस्त जिन्दगी अर्थात भनौ नियममा बाँधिएको जिन्दगीबाट भाग्ने अवसरको प्रतिक्षामा थियो बसन्त। सप्ताहान्तको दुई दिन प्राःय हरेक शनिवार एका विहानै सागरको किनार सँगसँगै भागेको ओसन ड्राईभमा पुग्नु अनि सुर्यका किरणका पाईलासँगै सागरमा हाम्फाल्न आतुर बोटहरुको कर्कश आवाज सुन्नुको विकल्प खोजिरहेको थियो उ । कामबाट दुईचार दिन फुर्सद  निकालेर कम से कम ब्लु रिज माउण्टेनको धापहरुमा पुग्न पाए आफ्नो मुलुकको कुनै पनि पहाडी भेगको चौरी चर्ने लेकहरुमा पुगे जस्तै अनुभूतिहरु सँगाल्न पाईने थियो ।

जङ्गलसँग लुकामारी खेली रहेका साना साना खोल्सा खोल्सी र तालहरु अनि मौसम अनुसार रङ्ग फेर्ने जङ्गलभरिका रङ्गिन पातहरु हेरेर बेग्लै प्रकृतिसँग एकदम नजिक हुन पाईने थियो । उसको मनमा केहि दिनदेखि यस्तै कुरामात्रै खेलि रहेथ्यो।

एउटा बिहान झण्डै मध्यराततिर नै फोनको घण्टी बज्यो । फोन नेपालबाट दिदिको थियो । दिदिको पहिलो वाक्यमै जुन कम्पन थियो हल्लाई दियो उसको मुटुलाई । उसको पहाडको घर बमले ध्वस्त पारिदिएछन् क्रान्तिकारीहरुले । त्यो घरको दोष सम्भवतः त्यसको फराकिलो मूल ढोकामाथि झुण्डिएको मालपोत कार्यालयको साइनबोर्ड हुनुपर्छ । घर त एउटा सामान्य परिवारकै थियो जसको भाडाले उसको दिदि भिनाजु गुजारा चलाउँदथिए ।

सात कक्षामा पढि रहेको बेलामा बुवाको निर्देशन अनुसार बसन्त आफैले कोरेको थियो त्यो घरको नक्शा । एउटा पेशेवर आर्किटेक्चर भए जस्तै निकै ढङ्ग पारेर चारै कोठाबाट घरको तस्विरहरु कोरेको थियो उसले । त्यति दुर्गम ठाउँमा त्यति सुन्दर घर । जे होस् साराशँमा त्यो घरप्रति उसको निकै गहिरो भावनात्मक सम्बन्ध थियो । आज यति सबरै उसको त्यो प्यारो घर शुन्य भूमिमा परिणत भएको खबर सुनेर उ मर्माहत भयो । विक्षिप्त मुटुले धडकिन नै बन्द गर्लाजस्तो भएर निस्सासियो उ । दिदि भन्दै थिइन् "क्रान्तिकारी भन्छन् सत्यानासीहरू, शोषक सामन्तिको घरमा कुखुराको खोरमा बम राख्छन् हाम्रो भने…" दिदि फोनमै डाँको छोडेर रुन थालिन् ।

उसको मन पनि भक्कानिएर आयो र आँखाका कुनाहरु पुछ्दै दिदिलाई सम्झायो । "तिमि जसरी भएपनि आउ, खरानीको थुप्रो भएको छ हाम्रो घर,  बुबा आमा हामी सबै विक्षिप्त अवस्थामा छौ ।" दिदि फेरि रुन थालिन् ।

पोहोर मात्रै नेपाल गएको बेला एउटा खुँखार भ्रष्ट मन्त्रीको घरको पर्खालमा प्रेसर कुकर बम पड्किएको खबरलाई टेलिभिजनले जसरी प्रस्तुत गरेको थियो त्यो देखेर उसलाई हाँसो उठेको थियो । जे होस् फेरि नेपाल जानै पर्ने भयो । हिमाल भने पछि भुतुक्क हुने बसन्त हरेक पल्ट नेपाल जाँदा कुनै हिमाली गाउँमा पुग्ने रहर आँखामा टाँसेर जाने गर्दथियो तर यसपल्ट शुन्य भूमिको दर्शन गर्ने यात्राको तयारीमा लाग्यो ।

कुनै विकल्प थिएन । मन नपरे पनि गल्फ एयरकै टिकटमा जानुपर्ने भयो । झण्डै एघार घण्टाको हिथ्रोको ट्रान्जिट अनि बहराईन देखि काठमाण्डौको यात्रा सम्झेर अहिले नै वान्ता होला जस्तो भयो उसलाई तर के गर्नु जानै पर्ने भएपछि ।

उ घुमि रहने मान्छे टर्मिनल भित्रको चहल पहल पनि अत्यास लागी सकॆको छ। कति हेर्नु आउने जाने मानिसको भिडलाई, कति बस्नु टेलिभिजनको मनिटरमा आँखा टाँसेर । ल्यापटपमा झण्डै दुईतिन घण्टा अल्झेर पनि समय अझै थुप्रै बाँकि छ । एउटा लामो निश्वास छोड्छ उ आङ्ग बटार्दै । ठिक यति नै बेला स्टारबक्स कफिको मगमग वासनासँगै एक जोडि रोमियो एण्ड जूलियट ठिक उसको अघिल्तिरको ठाउँ ओगट्न आईपुगे । शायद हनिमूनमा हिँडेका हुन् कफि पिउनु भन्दा अघि एक लामो चुम्बन पिए ।

बसन्तपनि कफि अति पिउनु पर्ने सहि सक्नु भएन उसलाई । झोला सोला बोकेर लाईन लाग्न पुग्यो स्टारबक्स कफिको स्टोरमा। क्यारामेल क्यापाचिनो र चकलेट क्रोसाण्ट बोकेर फर्किंदा उ बसेको ठाउँ झण्डै दुईटनको एउटा महाशयले लिई सकेको थियो ।

फेरि एकपल्ट भरिभराउ भएको थियो टर्मिनल थ्री। यताउता कतै ठाउँ नपाएपछि अलि महङ्गो जस्तो लाग्ने रेष्टुरेण्टको सिटिङ्ग एरिया छेउ पुग्यो । 'यहाँ बस्नलाई कतै यहिँकै ग्राहक हुनुपर्ने बाध्यता छैन?' आफैसँग प्रश्न गर्दै भेटटाएको एउटा ठाउँ छोड्न सकेन उसले ।

क्यापाचिनोको दुई चार घुट्को मात्रै पिएको थियो क्रोसाण्ट त टोकेकै थिएन अनायास भुईमा अलपत्र एक जोडि लेडिज जुत्तामाथि आँखा पर्यो। यसरी भुईमा बेवारिसे अवस्थामा लेडिज जुत्ता देख्नै हुँदैन बसन्तलाई पम्फाको याद आई हाल्छ । एउटा खबर पत्रिका पढि रहेकि ति महिलाको अनुहार चिहाउने प्रयास गर्यो उसले तर व्यर्थ । जे होस् ति बेवारिसे जुत्ताहरुले अनायास आज धेरै वर्षपछि फेरि उसलाई पम्फाको सम्झनामा चुर्लम्म डुबाईदियो ।

पम्फा एउटा गोरखा मेजरकी छोरी हङ्गकङ्गमै जन्मेर उतै बढेकी । पोखरामा पहिलो पल्ट तिनलाई देख्दा उ कुरकरे वैंशको उन्मादमा थिई । पोखराका सामान्य केटिहरु भन्दा अग्ली मिलेको जिउडाल अनि सुन्दरता र व्यक्तित्वकि अति धनी । साराशँमा भन्नुपर्दा हरेक जवान केटाहरुको निद्रा हराम पारी दिएकि थिई उनले । कति त आत्मरतिमा चुर्लुम्म डुबेर अनेक काल्पनिक घटनाहरु सुनाउँथे पम्फासँग आफ्नो पिरती बसेको । तर उनको व्यक्तित्व नै यस्तो थियो कि केहि हाउडे केटाहरुको केटिहरु प्रतिको दृष्टिकोण नै परिवर्तन गरिदिएकि थिई पम्फाले। एक दुई जवान ज्यान फालेर पछि लागेका थिए तर केहि दिनमै नुन खाएको कुखुरा झै भएका थिए । बसन्तको हकमा भने एउटा दुर्घटना नै भएको थियो । यतिबेला उ त्यहि दुर्घटनाको फ्ल्यास ब्याकमा गएको हुनुपर्छ कफि छोडेर एकोहोरिएको छ उ ।

फ्ल्यास ब्याक

कसरी कसरी अंग्रेजीको कक्षामा पम्फाको पछाडि बस्न पुगेको छ उ । बानी अनुसार चप्पल भुईमा अलपत्र छाडेर बसेकी छ पम्फा । एउटा परपीडकले उनका ति चप्पलहरु खुट्टाले तानेर बसन्तले थाहै नपाई उसको झोलामा हालि दिई सकेको छ ।

कक्षा सकिए पछि आफ्नो चप्पल नभेटेर राँको जस्तो आँखाले छेउछाउमा बस्ने केटाहरुलाई घुरी रहेकी छ उ । त्यहि फण्टुस पम्फाको नजिक हुने बहानामा उनको कान फुक्न पुगेको छ र क्याम्पसको बरण्डामा पम्फा बसन्तको बाटो छेकेर उभिएकी छ । उनका क्रुद्ध आँखाहरुले आफुलाई घुरिरहेको देखेर पनि उसले केहि बुझ्नै सकिरहेको थिएन ।

"निकाल" पम्फाले चर्कोसँग भनिन् । "के निकाल्ने?" स्वाभाविक थियो उसको उत्तर तर पम्फाले झाटझुट उसको झोला तानेर चप्पल निकालेर भुईमा फालिन् र हातपनि नटक टक्याई एक झापड हानि दिईन् । गजबको झापड ।

विचरा बसन्त नराम्रो सँग झस्कियो र झण्डै कफि घोप्ट्यायो । फ्ल्यास ब्याकबाट यथार्थमा झर्दा ति महिला उसैलाई हेरेर मुस्कुराई रहेकी थिई। एकापट्टिको एउटा आँखालाई झण्डै झण्डै ओझेलमा पारेर झरना झै झरेको कालो कपाल अनि अधरमा उहि मुस्कान पम्फा नै थिई उ । बोलि हालिन् "हैन तिमि बसन्त नै होईनौ?"

बसन्तले कफिको कप छेउमा राखेर दुबै हातले आफ्नो गाला छोप्दै भन्यो "अझै रीस मरेको छैन?"

पम्फा यसरी हाँसी कि छेउछाउका यात्रीहरुपनि झस्किए । बसन्त मुस्कुराउने प्रयास गर्दै थियो पम्फाले मीठो गीत जस्तै बोलीमा सिलसिला जोडिन् "म सँधै तिमिसँग माफी माग्ने क्षणको प्रतिक्षामा हुन्थेँ तर तिमि सधै भागी रह्यौ।"  एउटा मीठो गीत सुनेर लठ्ठ परे जस्तै भयो बसन्त र पहिलो पटक यति सहज परिस्थितिमा पम्फालाई निसङ्कोच नियाली रहेको थियो । फेरि पनि पम्फा नै तर अलि गम्भीर भएर बोल्न थालिन् "म तिमिलाई पछ्याउँदै टि.यु. ज्वाईन गर्न पुगेकि थिएँ । एकपल्ट लाईब्रेरीमा मेरो चप्पल…।"

"हो हो म त्यहाँबाट पनि भागेँ । अनि एकपल्ट त किर्तिपुरको बसमा तिमिसँगै टाँस्सिएर बस्न पुगेछुँ । पैसा खसेर टिप्न निहुरिंदा तिम्रो बेवारिसे चप्पल देखेर होस् हवास गयो र बिचैमा कतै ओर्लिएर बेतोड हिँडेछुँ … " एकै शासमा पम्फाको कुरा काटेर बसन्तले भन्यो ।

फेरि हाँसिन पम्फा बसन्तको कुरा सुनेर अनि झन् हौसिँदै भनिन्- "तर त्रिभुवन बिमानस्थलमा त भागेनौ नि…।"

"किनभने तिमि त्यतिबेला चप्पल खोलेर बसेकि थिएनौ । सोच्दै नसोचेको अवस्थामा भेटियौ तिमि । टिपिकल गुरुङ्गसेनी भेषभुषामा शायद बेहुलीका भेषमा त्यो पनि एउटा…" अड्कियो बसन्त भनुँ कि नभनुँ भै रहेको बेला पम्फाले नै उसको वाक्य पुरा गरिदियो- "त्यो पनि एउटा लाहुरेको दुलही भएर हङ्गकङ्ग जान लागेकी थिएँ । तर त्यस्तो परिस्थितिमा पनि तिमिसँग बोल्न आतुर थिएँ ।"

"तर तिमि भित्र छिरिहाल्यौ । म सँग टिकट थिएन । एक जना साथीलाई सी अफ गर्न गएको म त सँयोगले तिमिलाई विदाई हात हल्लाउनमात्र पुगेको रहेछुँ त्यहाँ" बसन्तले निर्धक्क भन्यो । एकछिन अडिएर केहि सम्झे झैं गरि फेरि बोल्यो- "तर तिमिले भित्र गएर शिसाको पर्खाल छेउ आई ईशारा गरेर नजिक बोलाउँदा भने डाँको छोडेर रोन मन लागेको थियो । तिमि एकदमै गम्भिर अनि रहर लाग्दो उत्तेजनामा के के बोली रहेकी थियौ । म केहि सुन्न सकिरहेको थिईनँ । त्यो शिसाको पर्खाल…"

"मलाई पनि फुटाई दिउँ झै लागी रहेको थियो त्यो शिसाको पर्खाल ।"  पम्फाले बसन्तलाई उछिनेर भनिन् र उ नै बोली रहिन् - "म तिमिसँग माफि मागी रहेकि थिएँ आफ्नो दुव्र्यवहारको लागी तर म आफ्नो अन्तर्मनको आवाज तिमिसम्म पुर्याउन सकेकि थिईनँ ।"

बसन्त चुपचाप सुनिमात्र रह्यो । "साँचै तिमिपनि के के बोली रहेको थियौ कुन्नी" …पम्फाले उसको मौनता तोड्ने प्रयास गरिन् ।

कफिको एक घुट्को पिएर बसन्तले ठट्टा गर्दै भन्यो-" के भन्ने ति केटाहरुलाई जो तिम्रोलागी ज्यान फाल्न खोज्दथे भनि सोधि रहेको थिएँ।"

"धत् फटाहा !" पम्फाले लाज मानी

"विश्वास गर म यति हैरान थिएँ कि …"

"किन पम्फाजस्ती घमण्डी केटीले एउटा लाहुरेसँग विवाह गरिछ भनेर ?"  बसन्तको कुरा काट्दै तीखो प्रश्न गरिन् ।

"होईन आफु लाहुरे बन्न नसकेको वेदना त्यतिबेला अनायास बल्झिएर…।" स्पष्टिकरणसँगै फेरि मौन भयो उ । पम्फापनि मौन बसिन् केहि बेर । अनि प्रसङ्ग फेर्ने प्रयास गर्दै भनिन्-" तिमि वास्तवमा रमाईलो मान्छे थियौ रे केटीहरु तिम्रो खुब कुरा गर्थे ।"

"अझैपनि त्यस्तै छुँ । केहि परिवर्तन भएको छैन " गर्वसाथ बसन्तले भन्यो ।

"कपाल त फुलेछ नी!"  कपालतिर ईशारा गर्दै पम्फाले भनिन्

"कपाल ?  कपालले त गर्नु गर्या छ । चालीस नकाट्दै हजुर बा बनाई दिएको थियो यो कपालले" लाज माने झै गर्यो बसन्तले ।

"कसरी? "  नसोधि बस्न सकिन पम्फा । रमाईलो लागी रहेको थियो उसलाई ।

उसको आँखाको चमकपनि नहेरी बसन्तले भन्यो- "नेपाल हुँदैको कुरा, छोरी लिन गएको स्कूलमा एउटी दार्जिलिङ्गतिरकि टिचरले भोलिपल्ट छोरीलाई भनिछ 'तिम्रो हजुरबाले तिमिलाई धेरै माया गर्नुहुँदो रहेछ हगी' भनेर ।"

मन खोलेर हाँसी पम्फा । तर त्यो उन्मुक्त हाँसोभित्र केहि वेदना लुकेको गन्ध पायो बसन्तले । खोई किन हो कुन्नी एकोहोरो हेरिमात्र रह्यो पम्फालाई । यति नजिक नै कहिले भएको थियो र उ आफैलाई अचम्म लागी रहेको थियो उसलाई । पम्फाले फेरि एक झुप्पा कपाल आँखाबाट हटाउँदै भनिन्-"तिमि वास्तवमा साह्रै रमाईलो मान्छे रहेछौ । पोखरामा मैले तिमिसँग…"

"भयो भयो नबनाउ अब" उनको कुरा काट्दै अलि खिन्न भए झै बसन्तले भन्यो । "चड्कन हानेरै गर्नु गुण गरि सकेकी थियौ । पोखरामै भएको भएपनि तिमि मसँग बिहे त गर्दिन थियौ होला किनभने तिम्रो अगाडि म भण्टाको बोटमा पिङ्ग खेल्ने झै देखिन्थें ।"

फेरि हाँसिन् पम्फा त्यसरी नै दिल खोलेर । तर बसन्तलाई फेरिपनि त्यस्तै लाग्यो । केहि वेदना लुकेको छ उनको हाँसोमा तर कुराको प्रसङ्ग फेर्दै भन्यो- "साँच्ची कहाँ जान लागेकी तिमि?  यत्रो बेर भईसक्यो हामी गफिएको कतै हामी दुबैको ल्फाईट त छुटेन?"

बसन्त सँगसगे उठेर पम्फालेपनि नजिकैको मनिटरमा आँखा तन्काईन् । बसन्त भने केहि बोल्न खोज्दा खोज्दै सन्तुलन नमिलेर झण्डै लड्यो । पम्फा ठिक उसको पछाडि उभिएको उसले चालै पाएको रहेनछ । आफुलाई सम्हाली दिएकोमा धन्यवाद र उनको शरीरसँगै टाँस्सिन पुगेकोमा क्षमा माग्दै बसन्तले भन्यो- अहिले सम्म गेट नम्बरको सूचना नै दिएको छैन । तिमिलाई नभेटेको भए यत्ति बेरसम्म म खुस्किई सकेको हुँन्थे होला ।

"किन र कति बेर भयो तिमि आएको?" आफ्नो ठाउँ लिँदै उत्सुकता जनाईन् पम्फाले ।

"म त ट्रान्जिट पेसेन्जर नि! सात आठ घण्टा भई सक्यो टर्मिनल थ्री भित्र छिरेको ।"

"कहाँबाट आएको?"

"मायामी"

"अनि लण्डन घुम्न गएको भए हुन्थ्यो नि ! किन बसी रहेको त यहाँ?"

खल्तीबाट केहि निकालेर देखाउँदै बसन्तले भन्यो- "देखेनौ यो हरियो पासपोर्ट ? अपराधिलाई जस्तै व्यवहार गर्छन् अध्यागमनका मानिसहरु ।"

"किन होला हगी? नत्र कुनै आफन्तको घरमा हुन्थ्यौ होला यतिबेला।" पम्फाले अचम्म मान्दै भनिन् ।

"तर तिमिसँग भेट हुनु लेखेको रहेछ । यो अवसरपनि त हरियो पासपोर्टले नै त दिएको भन्नु पर्यो नि । बरु तिमि कतिबेला आएकि यहाँ?" बसन्तले पासपोर्ट खल्तीमा राख्दै सोध्यो ।

"म त लास्ट आवरमा आईपुग्थें होला । आज मलाई यहाँ छोडेर छोरी एडिनवर्ग जानुपर्ने थियो त्यसैले चार घण्टा पहिला नै छाडेर गई ।" पम्फाले भनिन् ।

"त्यसको मतलब तिमि यतैको रैथाने भई सक्यौ?" बसन्तले उत्सुकता जनायो ।

"के गर्नु त? कहाँ दियो त तिम्रो पोखराले मलाई बाँच्न ? जिउँदै मरेको लाश जस्तो जिन्दगी बांच्न सकिनँ । अनि…।"  वाक्य पुरा गर्नपनि सकिनन् पम्फाले । अघि उनको हाँसो मुस्कानहरुमा लुकेको वेदनाहरु छचल्किन थाल्यो ।

'मेरो पोखरा?  जुन पोखराले म आफैलाई पनि…।' बसन्त आफैंसँग बडबडाई रहेको थियो ।

"तिमिले केहि भनेको हो?"  पम्फाले प्रश्न गरी

कुरा ढाक्दै यतिमात्र सोध्न सक्यो-"कहिले देखी?"

"धेरै लामो कथा छ बसन्त, काठमाण्डौंसम्मको लामो यात्रा अवधिमा धेरै कुरा बाँड्ने छुँ तिमिसँग ।"  मानौ उ उनको एकदमै नजिकको मानिस भएजस्तै । मानौ उनिहरु दुबैजनाको सीट संगै भएजस्तै ढुक्क सँग भनिन् पम्फाले ।

बसन्त टोलाएको देखेर फेरि पम्फाले नै भनिन्-" केहि खाने होईन बसन्त?"

"खानुपर्ला मेरो त एउटा क्रोसाण्ट टोक्न बाँकि नै छ । तिमि के खान्छौ?"  बसन्तले उठ्दै सोध्यो ।

"तिमिलाई भेटेपछि मेरो त भोक शोक सबै हराए जस्तो छ ख्वै के खाने?" पम्फा अलमलमा परिन् ।

"होईन खानु पर्छ । ल्पेनभित्र गल्फ एयरको खाना…। बसन्तले नमीठोसँग मुख बिगार्यो र त्यहिँ रेष्टुरेण्टको मेनु बोर्डतिर आँखा तन्कायो ।

"ईटालियन पनीनि हुन्छ?"

"विल मैले तिर्ने शर्तमा तिमिलाई जे जे मन लाग्छ सबै हुन्छ ।"  पम्फाले भनिन् बसन्तले हाँसेरै टार्यो र मनग्गे खाने कुरा अर्डर गरेर भन्यो- "उ त्यो शिसाको पर्खाल नजिकै बसुँ होला।"  पम्फा चुपचाप झोला बोकेर उसले ईशारा गरेको ठाउँतिर लागी । बसन्तको सामानहरुपनि उनैले लगेर उता राखिन् । बसन्तको आँखाले आफुलाई पछ्याउन नछाडेको देखेर ईशारामै सोधिन् 'मदत गर्न आउँ' भनेर । बसन्तले पनि ईशारामै 'पर्दैन बस' भन्यो ।

एउटा ट्रे भरि खानेकुरा बोकेर टेबुल नजिक पुग्दा पम्फा छिनछिनमा फुत्त फुत्त उडि रहेको विमानहरु हेरि रहेकी थिईन् ।

"कस्तो सँयोगले आज तिमिसँगै उड्न पाइने भयो"  पम्फाले खुशी हुँदै भनिन् । "पहिलो भेट जस्तोपनि भएन मानौ हामी…"
"कुटाकुट गरेर खेल्ने साथी जस्तै हौं"  बसन्तले उछिनेर वाक्य त पुरा गर्यो तर पम्फा अलि गम्भिर भएको देखेर परिस्थितिलाई सच्याउन उ नै बोल्न थाल्यो "हामी किन यति सहज हुन सकेको तिमिलाई थाहा छ?"  खाँदै गरेकी पम्फाले आँखाले नै प्रतिप्रश्न गरिन् ।

"किनभने तिमि पम्फा र म बसन्त भएर ।"  झण्डै सर्कियो पम्फालाई बसन्तको कुरा सुनेर र केहि नबोली हेरि मात्रै रहिन् । उनलाई यस्तो परिस्थितिमा देखेर उसले फेरि भन्यो- "तिमिले अझै कुरा बुझेनौ"

पम्फाले टाउको हल्लाएर साँच्चै नबुझेको सङ्केत गरिन् । पनिनिको एउटा गाँस निलि सकेर बसन्तले भन्यो- "तिमिलाई लागेको छ तिमिले मलाई चोट पुर्याएकी छौ र यो कुराले तिम्रो मनलाई टोकि रहेको छ । म भने तिमिप्रति यति धेरै अनुग्रहित छुँ कि…।"

"यो 'अनुग्रहित' भनेको के हो तिमि धेरै सोफिस्टिकेटेड नेपाली नबोल न!"  पम्फाले विनम्र विन्ति गरिन् ।

"भन्न खोजेको के भने तिमिले मलाई गुण लगाएकि थियौ ।"

"थप्पड हानेर?"

"हो त!  तिमिलाई थाहा छ म त्यो झोलामा के बोकि हिँडथे?"

"किताब ?"

"किताबसँगै थुप्रै हीनताबोध अर्थात ईन्फेरिटि कम्ल्पेक्स र त्यो दिन…।"

"ल पुग्यो बुझे, तिम्रो कुरा" पम्फाले कुरा काटदै भनिन् र भनिला सेकको एउटा लामो सिप लिईन् ।

"के बुझ्यौ?" बसन्तले खान लागेको गाँस रोकेर सोध्यो ।

"यहि कि मैले तिम्रो कमःल्पेक्सहरुलाई गजबको थप्पड हानेँ ।"

"एक्ज्याक्ट्ली" बसन्तले प्रसन्न हुँदै कुरा अघि बढायो "लाहुरे हुन नसकेको वेदना अर्थात तापले पोखरामै बसी पढ्न थालें तिम्रो थप्पडले युनिभर्सिटी पुर्यायो अनि मेरो समाजको सँरचनाहरु अर्थात मानिसको पक्षपातपुर्ण व्यवहारहरुले मेरो थुप्रै राम्रा अवसरहरु खोसेपछि म अमेरिका भास्सिएँ ।"

एकछिन रोकिएर भावनाको वेगलाई सम्हाल्दै अलि दबेको स्वरमा उसले फेरि भन्यो - "तर के गर्नु त्यो मेरो पनि देश हो त्यसैले…।"

"पहिलो पल्ट फर्किँदै छौ?"  पम्फाले उत्सुक हुँदै सोधिन् ।

"होईन प्रायः दुइ तीन वर्षमा एकपल्ट नेपाल पुगेकै हुन्छु ।"

"आफन्त भेट्न?"

"माछापुछ्रे, अन्नपूर्ण अनि कहिले काहिँ सगरमाथालाई भेट्न । सबै हिमालहरु मेरा आफन्तहरु हुन् । मलाइ मेरो देशको प्रकृतिसँग माया बसेको छ । म उनिहरुसँग नजिक हुन घरी घरी नेपाल पुगी रहेको हुन्छु तर…" उ रोकियो । भनुँ कि नभनुँ भयो उसलाई । यो मीठो भेटघाटको स्वाद व्यर्थमै किन बिगार्नु जस्तो लाग्यो र केहि नबोली चुपचाप खान थाल्यो ।

पम्फा आफै पनि उकुसमुकुस भई रहेकि थिईन् छोडिनन्-"तिम्रो 'तर' भित्रको व्यथा बाँड्न चाहेनौ नि म सँग ।"

बसन्तले एकनाशसँग नियाल्यो पम्फालाई । तिनि अर्थपूर्ण ढङ्गले मुस्कुराई रहेकि थिई । उ सोध्न सक्ने अवस्थामा पनि थिएन । आफु नै एउटा गह्रुङ्गो वेदना बोकेर नेपाल जाँदै थियो । आफ्नो प्यारो घर शुन्य भुमिमा अनुवाद भै सकेको वेदना नै उसको मुटुलाई थाम्न गाहारो भई रहेको बेला अझ  भारी थप्न मन लागेन । चुपचाप हेरि रह्यो पम्फालाई । एउटा अमूर्त चित्र हेरि केहि बुझ्ने प्रयास गरे झै ।

बसन्तले आफ्नो प्रश्नको जवाफमा आफन्त शब्दको उच्चारण पनि नगरेपछि उसको 'तर' भित्र थुप्रै रहश्य र वेदना मिसिएको हुनुपर्छ भन्ने अनुमान लगाईन् तर फेरि दोहोर्याएर सोध्ने आँट चाहि उनले पनि गरिनन् । गह्रुङ्गो हुँदै गई रहेको थियो उनको आफ्नै छाति पनि ।

"तिमिलाई शुन्य भुमि भनेको थाहा छ? मेरो मतलब ग्राउण्ड जीरो।" अचानक बसन्तले प्रश्न गर्यो ।
"थाहा छ म त्यहि भुमिमा पाईला राख्न त जाँदै छु नी!"

अति सजिलो सँग एकदमै हलुङ्गोसँग मानौ यि शब्दहरु उनको ओठहरुबाट झर्न आतूर भई बसिरहेका थिए, झरे । बसन्त पम्फाको अनुहार हेरेको हेर्यै भयो । घाँटीमा केहि अडकिएर निसास्सिए झैँ भएको थियो ।

पानीको गिलास बसन्तको अगाडि सारिदिँदै भनिन्-"घान्द्रुङ्गको हाम्रो मूलघर जसलाई बाबाले एउटा रिजोर्टको रुपमा मोडिफाई गर्नु भएको थियो । बाबाको शेषपछि मेरो काका जो नेपाली आर्मीको रिटायर्ड मेजर हुनुहुन्थ्यो ले त्यसको सँचालन गरिराख्नु भएको थियो । अहिले त्यो घर ग्राउन्ड  जीरो भएको छ ।" भासिँदै गएको स्वरमा पम्फा भनिरहेकी थिईन् र बसन्त सुन्न सक्ने साहश बटुलि रहेको थियो ।

"दुष्टहरुले काकालाई पनि बाँकि राखेनन्" बोल्दा बोल्दै पम्फाको गला बस्यो । उनी टेबुलमै घोप्टिएर निःशब्द आँसुमात्रै बगाउन थालिन् । थाहै नपाई पम्फाको एउटा हातलाई आफ्नो हातहरुमा लिएर सुम्सुम्याई रहेको थियो बसन्त । पम्फा कुनै प्रतिवाद नगरी बोल्न थालिन्-" काकालाई उनिहरुको क्रान्तिमा विश्वास थिएन रे त्यसैले उनिहरुको बन्दुक बोक्न मान्नु भएन छ । अहिले हाम्रो घर शुन्य भुमी भएको छ । तर तिमिले कसरी थाहा पायौ र यो प्रसङ्ग उठायौ" आश्चर्य मान्दै सोधिन् पम्फाले ।

"म त मेरो आफ्नै घर शुन्य भुमि भएको प्रसङ्ग निकाल्न खोज्दै थिएँ" भारी मनले बोल्यो बसन्त ।
"तिम्रो आफ्नै?" चकित भएकि पम्फाले गह्रुङ्गोसँग सोधिन् । उनका आँखाहरु बसन्तलाई माया लाग्दो किसिमले नियाली रहेकी थिए ।
"हो, मेरो आफ्नै… "

अनि बसन्त पम्फासँग आफ्नो भागमा परेको व्यथा बाँडदै थियो अनायास साईरनको चर्को आवाजले वातावरणमा कोलाहल मच्चियो । टर्मिनल थ्री भित्र अचानक भागदौड मच्चिन थाल्यो । मनिटरमा सबै उडान रद्ध भएको सूचना सम्प्रेषण भयो । क्षणमै म्याण्डेटोरी ईभ्याक्युएशनको सूचना सुन्न थालियो । टेलिभिजनमा सी.एन.एन. र बि.बि.सीहरु ब्रेकिङ्ग न्यूज भन्दै हिथ्रोका एउटा टर्मिनल नजिक टेरोरीष्टहरुले विष्फोटक पदार्थ बॊकेको ल्याण्डरोभर दुर्घटना गराएको दृश्य देखाउन थालिसकेका थिए ।

बसन्त र पम्फापनि चुपचाप अरु मानिसहरुलाई पछ्याई रहेको थिए । अनायास टर्मिनल थ्री एउटा रणभूमि जस्तै भएको थियो । टेलिभिजनमा देखेका दृश्यहरु प्रहरी दमकल र एम्बुलेसको दौडादौड घटनाको गम्भिरतालाई महसुस गरि सकेका थिए पम्फा र बसन्तले । एउटा अलि फराकिलो लबीमा पुग्दा प्रहरी र अध्यागमनका मानिसहरु पासपोर्ट हेर्दै भेंडा बाख्रा छुट्याए झैं यात्रुहरुलाई छुट्याई रहेका थिए ।

दुबैले परिस्थितिलाई बुझे । छुट्टिनु पर्ने अवस्था आई परेका देखेर हतार हतार आफ्नो भिजिटिङ्ग कार्ड निकालेर पम्फालाई दियो । विचरी पम्फाले त निकाल्न पनि भ्याइनन् । एउटा बेग्लै भेलमा छुट्टिएर बग्न थालिन् पम्फा । अनि अर्को भेलमा बसन्त । मानिसको भेलमा बग्दाबग्दै आफ्नो फोन देखाउँदै फोन गर्न ईशारा गरिरहेको थियो बसन्त । हेर्दाहेर्दै पम्फा हराईन् । साह्रै दिक्क लाग्यो बसन्तलाई । मनमनै ति आतङ्ककारीहरुलाई सराप्नु सराप्यो र चुपचाप भिडसँगै बगी रह्यो ।

एयरपोर्ट होटेलको लबीमा पुर्याएर थन्क्यायो उसलाई । यस्तो परिस्थितिमा अर्थात आतङ्कित अवस्थामा पनि उ पम्फालाई मात्रै सम्झिई रहेको थियो । बिचरी उ सँगै उड्न पाउने रहरले दङ्ग परेकि थिई । मनभरी गुम्सिएको कथा व्यथा सिङ्गै यात्राभरि बाँड्ने कुरा गर्दै थिई । दिक्क लाग्यो उसलाई र एउटा काउचमा थच्चारियो । थाकेको शरीरलाई मुढा जस्तै फालिदियो काउचमा । एयरलाईन्सको कर्मचारीहरुलाई खोजेर आफ्नो उडान निश्चित गर्नुपर्ला भनेर सोच्दा सोच्दै झपक्क निद्राले पो छोपेछ उसलाई । अनायास क्ल्याकबेरी भाईब्रेट भएर झस्कियो ।

"तिमि कहाँ छौ?" विना हेलो उसको श्रीमति सोधि रहेकि थिईन् । उनको आत्तिएको स्वर सुन्ने वित्तिकै उसले कुरा बझि हाल्यो । सँधै सी.एन. एनमा आँखा टाँसेर बस्ने श्रीमतिलाई घटनाको बारेमा भनि रहनुपर्ने जरुरी नै भएन ।

"म हिथ्रो भित्रै छुँ सकुशल छुँ "

"फोन गर्नु पर्दैन, फटाहा ! मेरो त सासै अड्कियो ।" उ अलि रिसाईन् ।

"होसै भएन तिम्रो फोन आएपछि मात्रै मेरो एउटी श्रीमति पनि छ भन्ने…"

"कुम्भकर्णको नाती कुन कुनामा बसेर सपना देखी राखेको थियो होला गफाडि" बसन्तको कुरा बिचैमा काटेर बमकिनु सम्म बमकिन् । बसन्तले माफी माग्दै आफ्नो बारेमा पिर नगर्न विन्ति गर्दै कुरा टुङ्ग्यायो ।

फेरी फोन आयो उसकै श्रीमतिको । "होईन कुरै सकिएको छैन फोन राख्न किन हतार गरेको मसँग  बोल्नलाई पनि तिमिसँग फुर्सद छैन?" फेरि बम्किईन् ।

"ए टी एण्ड टीको रोमिङ्ग चार्ज लाटी, पछि फोनको बिल हेरेपछि थाहा पाउने छौ।" बसन्तले स्पष्टिकरण सहित सम्झाउने प्रयास गर्यो ।

"जे सुकै होस् हरेक दश मिनेटमा फोन गर । ल्फाईट मिलेन भने फर्केर आउ"  उताबाट आदेश छाँटि ।

"फर्किनलाई पनि त ल्पेन नै चाहियो नि मैया हिँडेर आउन मिल्दैन एटलाण्टिक महासागर पर्छ…"

"भयो भयो फण्टुस गफ गर्नलाई चाहि रोमिङ्ग चार्ज लाग्दैन महाशयलाई"  उतैबाट लाइन काटि दिईन् । बाई न साई फोन राखि दिई । बसन्त श्रीमतिको कुरा सम्झेर हाँस्दै फोन हातैमा खेलाई रहेको थियो फेरी फेरी घण्टी बज्यो ।

"तिमि कहाँ छौ" फोनमा पम्फा पो थिई । झण्डै श्रीमतिको फोन भनेर झपारेको । "म एयरपोर्ट होटेलमा" यति मात्रै भन्न सक्यो उसले हाँसो रोक्दै ।

"लबीमा हो?"

"यता क्याफे लाउन्जतिर हेर त, दोश्रो तल्लामा एउटी आईमाई सेलफोनमा कुरा गर्दै तिमिलाई नै खोजिरहेकी छ ।"

बसन्तले उठेर आँखा त्यतै फाल्दै भन्यो- "खोई कुन चाहि आईमाई, सबै आईमाईको हातमा सेलफोन छ ।"

"मैले देखिसकें तिमिलाई" पम्फाले खुशी हुँदै भनिन्

"मैलेपनि…" आफैलाई हात हल्लाई रहेकी पम्फालाई नियाल्दै भन्यो बसन्तले ।

"यहिँ आउ न खाँदाखाँदै छोड्नु पर्यो अघि ।"  पम्फाले त्यतै आउन ईशारा गर्दै भनिन् । बसन्त लुरुलुरु आज्ञाकारी छात्रजस्तै त्यहिँ पुग्यो र भन्यो- "नजिकै कतै भट्टी छैन?"

"किन पिउन मन लाग्यो?"

"मातुन्जेल, क्या रीस उठाउँछन् यि टेरोरिष्टहरुले" बसन्त साँचै जङ्गियो र पम्फा उसैलाई बुझ्ने गरिरहेकी सुँईको पाएर फेरि भन्यो- "अनि तिमि यहाँ किन नी?"
"म त तिमि लाहुरे दाईको…" आँफैले ब्रेक लगायो बसन्तले आफ्नॊ बढ्ता बोल्ने बानीलाई । तर पम्फलाई त्यत्ति नै काफि भई सकेको थियो । "भन भन न के भन्न खोज्दै थियौ तिमि" पम्फाको अनुहारमा आएको परिवर्तनलाई हेरेर बसन्तले केहि बोल्ने आँटै गर्न सकेन । एक किसिमको सन्नाटा छायो त्यो कोलाहल वातावरणमा पनि । बसन्त बानि अनुसार हतारमा गल्ति गरेर फुर्सदमा पछुताई रहेको थियो । धिक्कारी रहेको थियो आँफैलाई ।

"वास्तवमा म आफ्नो जिन्दगीको पानाहरु पल्टाउँदै थिएँ तिमिसँग । यो च्याप्टरमापनि पुगिन्थ्यो होला तर अब हाम्रो ल्फाईट नै निश्चित भएन त्यसैले जाउँ हिड…" पम्फा यति विनम्र बोलिरहेकी थिई कि बसन्त अझै आफ्ना त्रसित नजरले हेरिरहेको थियो ।

"उठ" पम्फाले बसन्तको पाखुरामै समातेर उठाई र अघिजस्तै एकदमै आज्ञाकारी विद्यार्थी जस्तै उ चुपचाप पम्फासँगै हिँडि रह्यो बारमा नपुगे सम्म । "तिमि निर्धक्क पिउन सक्छौ । म तिमिलाई एक दुई पेगसम्म साथ दिने कोशीस गर्ने छुँ ।" एउटा एकान्त ठाउँमा झोला विसाउँदै पम्फाले भनिन् ।

बसन्तको मुखमा साँच्चै नै ताल्चा लागेको देखेर पम्फाले आफुलाई सहज बनाउँदै पिउनु अघि नै मादक मुस्कानहरु अनुहारभरि पोखेर भनिन् "वास्तवमा मलाईपनि मातुन्जेल पिउन मन लागी रहेछ । सबै कुरा भताभुङ्ग पारिदियो यि टेरोरिष्टहरुले ।"

पम्फाले आफुलाई पिउन नै साथ दिने भै सकेपछि जाग्यो उसको तिर्खा र सोध्यो- "के पिउँछौ तिमि?"

"तिमि जे पिउँछौ त्यहि"

पम्फालाई साँच्चै पिउने मुडमा देखेर बसन्त जोस्सिएर पुग्यो काउण्टरमा ।

उनिहरु पिउँदै एक अर्कालाई नियाली रहेका थिए । बसन्त घरी घरी पछाडि फर्केर हेर्ने गरिरहेको थियो ।

"के हेरि रहेछौ तिमि? कोहि आउँदै छ तिमिलाई भेट्न?"  पम्फाले अचम्म मान्दै सोधिन् ।

"कोहि आईदिए हुने थियो जस्तो भैरहेको छ । तिमिसँग यसरी सँगै बसेर बसन्त आज स्कच पिई रहेको छ यो चानचुने घटना होईन बुझ्यौ यो दृश्य हाम्रा समकालीन साथीहरुमध्ये कसैले देखिदिए हुन्थ्यो जस्तो भैरहेको छ ।"

बसन्त बल्ल अलिकति आफ्नो स्वभाव अनुसार वातावरणलाई फेरि रमाईलो बनाउने प्रयास गरिरहेको थ