नाईन्टि नाईन को कन्धनी

शरद निरोला
मेरिल्याण्ड


हलो हलो के कसो छ
मेरो पसलमा आउनोस् सेलै सेल छ
तपाईंको साह्रै हार्दिक स्वागत छ
तपाई जस्तो ग्राहक पाउनु
मेरालागी क्या बात छ ।

तपाईलाई के चाहियो कुसुमे रुमाल ?
मात्रै वान नाइन्टि नाईन
हैन पेपर टावेलको बण्डल चाहिन्छ भने
जस्ट टु नाईन्टि नाईन
कतै चमेलीको तेल पो घस्काउनु छ कि ?
त्यो त रायोको सागको दाम - वन्ली थ्री नाईन्टि नाईन

सबै चीजमा हजुर पहिलो डलर सोलिड
त्यसपछिको खुजुरा नाईन्टि नाईन - नाईन्टि नाईन

हाम्रो नेपालमा त हजुर रुपैयाँमात्र चल्छ
खुजुरा त कता हराए कता नोटैमात्र चल्छ
अमेरिकामा चाहि खुजुराकै चकचकी छ
खुजुरामापनि प्रभु नाईन्टि नाईनकै विगविगी छ

भन्छन् एक डलरमा
नाइन्टि नाईनको कन्धनी लगाए
दुई डलर हुँदैन रे
दुई डलर नभएकै कारण
माल सस्तो हुन गयो रे ।