नयाँ वर्ष २००९

संयुक्त श्रेष्ठ।

रूखको खोक्रा भित्र बस्ने
झुसे कीरामात्र खान बाध्य
गरीब मुलुकबासीहरू सामुन्ने,
आफूलाई ठूलो भन्ने देशहरूले
भव्य आतिशबाजीको
अकल्पनीय नमूनाहरू देखाए।

बर्षभरि कहिल्यै सामुन्ने नपर्ने
र मद्दत माग्दा उधारो मागे झै
फरक्क मुख फर्काउनेहरूले पनि
अन्यथा रित्तो मेरो इन्बक्सलाई
शुभकामनाको जंक-मेलले खाँदिदिए।

सबैले नयाँ वर्ष मनाए
सबैले नै शुभकामना दिए
तर २००९ भनिने यो नयाँ वर्षलाई
खै मैले आत्मसात गर्न सकेको?

नेपाल छँदा-
पल्लाघरे बेखालाल दाइले
बुढो साइकलको ह्याण्डलमा
एक पोको खसीको मासु झुण्ड्याउदै
र गल्लीका कुकुरहरूलाई धपाउदै
'वैशाख १ गते त रमाईलो गर्नुपर्छ' भन्दै
घण्टी बजाउदै गएको
देख्न नपाएर पो हो कि?
मैले खासै ठम्याउन सकेको छैन।